• ON AIR
  • UP NEXTसुर्खेत डायरी
समाचार

संघीय संरचनाअनुसार कृषिसंग सम्बन्धित कार्यक्रम सञ्चलनमा कठिनाई

सुर्खेत, १९ माघ ।
संघीय संरचना अनुसार कृषिसंग सम्बन्धित कार्यक्रमहरु सञ्चालनमा अन्यौलता भएको जिल्ला कृषि विकास कार्यालय सुर्खेतले जनाएको छ । देश संघीय संरचनामा गैसकेपछि जिल्लाबाट सञ्चालित कृषिसम्बन्धी कार्यक्रमहरुका बारेमा स्थानीय तहहरुसंग समन्वय हुन नसक्दा र आधिकारिक संरचना नबन्दा समस्या भएको कार्यालयले जनाएको छ ।
सहज रुपमा कार्यक्रमहरु सञ्चालनका लागि आधिकारिक संरचना, सम्बन्धित निर्देशिकासंगै स्थानीय तहमा अनुभवी कर्मचारीहरुको आवश्यकता पर्ने कार्यालयका प्राविधिक सहायक रामभक्त अधिकारीले बताउनुभयो । अनुभवी कर्मचारी नभएको र जनप्रतिनिधिसंग पनि सम्बन्धित विषयमा अनुभव नभएकाले कार्यक्रमहरु कार्यान्वयनमा अन्यौलता रहेको उहाँले बताउनुभयो ।
हाल जिल्लामा कृषिमा सघाउ पु¥याउने खालका कार्यक्रमहरुमा कृषि प्रसार कार्यक्रम, सहकारीमा आधारित साना सिचाइँ तथा मल, बिउ ढुवानी कार्यक्रम, विशेष कृषि उत्पादन कार्यक्रम, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना र बाली विकास कार्यक्रम सञ्चालनमा रहेका छन् । ती कार्यक्रम सञ्चालनका लागि जिल्लामा ५ करोड १ लाख १३ हजार रुपैयाँ विनियोजन भएको प्राविधिक सहायक अधिकारीले जानकारी दिनुभयो ।
यस्तै, यस बर्ष मात्र जिल्ला कृषि विकास कार्यालय सुर्खेतले जिल्लाका विभिन्न क्षेत्रका कृषकहरुलाई १० हजार ३०० केजी गहुँको विउ वितरण गरेको छ । यो बर्ष ५० प्रतिशत अनुदानमा ७ हजार ७४९ केजी तथा सतप्रतिशत अनुदानमा २ हजार ५५२ केजी वितरण गरिएको कार्यालयले जनाएको छ । त्यसमध्ये वीरेन्द्रनगर नगरपालिकालगायत नजिकका क्षेत्रमा बढी वितरण भएको जनाइएको छ ।
यस्तै, कार्यालयले जिल्लाका किसानहरुलाई आर्गानिक कृषि उत्पादनका लागि सहयोग गरिरहेको पनि जनाएको छ ।