• ON AIR
  • UP NEXTसुर्खेत डायरी
समाचार

७ बुँदे घोषणापत्र जारी गर्दै सम्मेलन सम्पन्न

सुर्खेत, १३ माघ ।
सकारात्मक सामाजिक रुपान्तरण अभियान सञ्चालन गर्नेमा सहमति जनाउँदै सामुदायिक रेडियोहरुको राष्ट्रिय सम्मेलन शनिवार पोखरामा सकिएको छ । सामुदायिक रेडियो प्रसारक संघ, अकोराबको आयोजनामा हिजोदेखि पोखरामा सम्मेलन सुरु भएको थियो । सम्मेलनले जारी गरेको ७ बुँदे घोषणापत्रमा ‘घरघरमा रेडियो, जनजनमा खबर, सुसूचित र जिम्मेवार नागरिक समृद्ध नेपालको आधार’ भन्ने नाराकासाथ सकारात्मक सामाजिक रुपान्तरण अभियान सञ्चालन गर्ने प्रतिवद्धता जनाइएको छ । सम्मेलनले महिला तथा पछाडि पारिएका समुदायको सहभागिता र नेतृत्व सुनिश्चित गर्न सबै रेडियोले नीतिगत रुपमा नै आवश्यक पहल गर्ने प्रतिवद्धता जनाएको अकोराबका अध्यक्ष सुवास खतिवडाले बताउनुभयो ।
वालविवाह, दाइजोप्रथा, छाउपडी, छुवाछुत, बोक्सी, सामाजिक विभेद र कुरितिको अन्त्यका लागि सामुदायिक रेडियो प्रसारक संघमार्फत सञ्चालन भइरहेको अभियानलाई निरन्तरता दिनेमा सहमति जनाउँदै थप कार्यक्रम  सञ्चालन गर्नेमा पनि सहमति जनाइएको छ । समुदायको विपद्सँग जुध्न सक्ने क्षमता अभिवृद्धिका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि सामुदायिक रेडियो प्रसारक संघ, नेपालको १३ औं वार्षिक साधारण सभा तथा राष्ट्रिय सम्मेलनले व्यक्त गरेको अकोराबका महासचिव गोविन्द देवकोटाले जानकारी दिनुभयो । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले एफएम रेडियो व्यवस्थापन तथा सञ्चालन कार्यविधीमार्फत एफएम रेडियोको प्रसारण इजाजत, नविकरण, समन्वय, अनुगमनलगायतका विषयलाई व्यवस्थित गर्न स्थानिय तहलाई जिम्मा दिएको असहमति जनाउँदै सम्मेलनले मन्त्रालयको उक्त कार्यविधि यथाशीघ्र खारेज गर्न माग गरेको छ ।
सामुदायिक रेडियो प्रसारकहरुको सहभागितामा कार्यविधी निर्माण गर्न पनि पोखरा सम्मेलनले माग गरेको छ । स्थानीय तह र सामुदायिक रेडियोहरुबीचको सहकार्यका लागि स्पष्ट नीति बनाई सबै तहमा परिपत्र गर्न, समानुपातिक विज्ञापन नीति कार्यान्वयनका लागि सर्वोच्च अदालतले निर्देशन दिदा समेत कार्यान्वयन नभएकाले तत्काल विज्ञापन नीति कार्यान्वयन गर्न पनि सामुदायिक रेडियोहरुले माग गरेका छन् । सञ्चार मन्त्रालयले संगीत रोयल्टी विवादका नाममा एफएम रेडियोहरुको इजाजत पत्र नविकरण एक पक्ष्ीाय ढंगले रोकेको निर्णयप्रति देशभरका रेडियोहरु गम्भीर असहमति प्रकट गरेका अकोराबका वरिष्ठ उपाध्यक्ष अर्जुन गिरीले बताउनुभयो ।
देशको प्रसारण क्षेत्रलाई व्यवस्थित बनाउन र सामुदायिक रेडियोहरुको दिगोपना र संस्थागत विकासका लागि सामुदायिक रेडियो मैंत्री नीती निर्माण गर्न सरकारसँग सम्मेलनबाट माग गरिएको छ । मुलुकको सबै क्षेत्रमा सामुदायिक रेडियोको प्रसारण रहेको विद्यमान अवस्थामा स्थानीय सरकार र सुरक्षा निकायसमेत स्वयम् रेडियो सञ्चालनतर्फ उन्मुख भएकोमा सम्मेलनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सम्मेलनमा मुलुकभरमा सञ्चालन भएका २ सय ८० सामुदायिक रेडियोहरुको सहभागिता थियो ।