• ON AIR
  • UP NEXTसुर्खेत डायरी
समाचार

आगलागी पीडितलाई तत्काल राहत उपलब्ध गराउन खड्काको माग

सुर्खेत, ८ पुस  (२०७४)
पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले वीरेन्द्रनगरका आगलागी पीडितलाई तत्काल राहतको व्यवस्था गर्न सरकारलाई आग्रह गर्नुभएको छ । आज आगलागी भएको ठाउँको निरीक्षणका क्रममा पूर्व गृहमन्त्री खड्काले प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयमा फोन गरेर तत्काल राहतको व्यवस्था मिलाउन आग्रह गर्नुभएको हो । आगलागी पीडितहरुले ठूलो क्षति व्यहोरको भन्दै उहाँले सरकारका तर्फबाट तत्काल राहतको व्यवस्था गरिनुपपर्नेमा जोड् दिनुभएको छ । 
स्थानीय प्रशासनमार्फत क्षतिको यकिन गरेर राहतका लागि मन्त्रालयमा पठाउन प्रक्रिया सुरु गर्न समेत पिडितहरुलाई उहाँले आग्रह गर्नुभएको छ । खड्काले आगलागी पीडितहरुसँग राहत उपलब्ध गराउनका लागि आफूले सक्दो पहल गर्ने बचन समेत दिनुभयो । हिजो राती वीरेन्द्रनगरको बसपार्क नजिकैका पसलमा आगलागी हुँदा पाँच करोड भन्दा बढीको क्षति भएको थियो ।
यसैबीच, होटल व्यवसायी संघ सुर्खेतले आगलागीबाट पीडित आफ्ना सदस्यलाई तत्कालिन राहत स्वरुप १० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । आज बसेको कार्यसमिति बैठकले शुक्रबार रातिको आगलागीमा क्षति व्यहोरेका तीन वटा होटल व्यवसायीलाई १०–१० हजारका दरले सहयोग गर्ने घोषणा गरेको हो ।
शुक्रबार राती भएको आगलागीमा सम्राट गेष्ट हाउस, कोशेली खाजा घर र सगरमाथा मिठाई पसलमा क्षति भएको छ । ति मध्ये कोशेली खाजा घर पूर्ण क्षति भएको छ भने सम्राट र सगरमाथा मिठाई पसलमा आंशिक क्षति भएको छ ।
होटल व्यवसायी संघ सुर्खेतका अध्यक्ष तर्कबहादुर शाहीले आगलागीमा क्षति व्यहोरेका पीडित सदस्यहरुलाई तत्कालिन राहत स्वरुप १०–१० हजार रुपैयाँ दिने निर्णय भएको बताउनुभयो ।