• ON AIR
  • UP NEXTसुर्खेत डायरी
समाचार

देवताका डरले छाउ बार्छन महिला ।

जाजरकोटका दुर्गम गाउँमा महिलाहरु महिनावारी भएको बेला छाउगोठमा बस्नु पर्ने बाध्यता कायमै छ । चेतनाको अभाब र धार्मिक अन्धविश्वासले महिलाहरु महिनावारी (रजस्वला) हुुदा गोठमा बस्ने गर्दै आएका छन ।

जिल्लाका दुर्गम गाउँमा महिलाले महिनावारी र सुत्केरी भएको बेला घरभित्र नबस्ने, सरसमान छुनु हुदैन भन्ने मान्यता रहेको छ । यस्तो मान्यताका कारण महिलाले सास्ती खेप्नु परेको छ । महिलाले सुत्केरी भएको बेला २२ दिन र महिनावारी भएको बेला ५ देखि ९ दिन सम्म घर बाहिर छाउगोठ वा छाप्रोमा बस्ने गर्दछन ।

महिनावारी भएको वेला घरमा बस्दा देउता लाग्ने भन्दै आफु घर बाहिर बस्ने गरेको छाउघरमै बसेकी जुनिचाँदे गाउँपालिका ४ कि १७ बर्षिय लक्ष्मा खड्का बताउँछिन । पुर्खाहरुको पाला देखि महिनावारी भएपछि महिलाहरु बाहिरै बस्ने प्रचलन छ । यस्ता महिलाले दुध दही खाएमा गाइ भैंसी थाक्ने ( दुध नदिने ) हुन्छन भन्दै दुध दही खान र पशुबस्तु छुनमा समेत प्रतिबन्ध लगाउने गरिएको छ । त्यस्तै यस्तो वेला महिलाले फलफूलका बिरुवा समेत छुन नपाइने प्रचलन रहेको छ ।

हामी युवतीहरुले यो प्रथालाई अन्त्य गर्न लागिपरे पनि घरपरिवारले महिनावारी भएको वेला बाहीर बस्न बाध्य पारेको जुनिचाँदे ११ कि सारदा बस्नेतको भनाई छ । छाउगोठमा बस्नुपर्दा बिभिन्न डर,त्रासको सामना गर्नु पर्ने बाध्यता बस्नेतले सुनाइन । महिनावारी भएको महिला घरभित्र बस्दा देउता लाग्ने, आफुहरुलाई असहज हुने र समाजले समेत तिरस्कार गर्ने स्थानिय अगुवा सिंह बहादुर खड्काको भनाई छ । पुर्खादेखि चलिआएको रितिरिवाजालई सजिलै अन्त्य गर्न नसकिने उनले बताए ।

साना बच्चा संग भएपनि महिनावारी भएको वेला बाहीरै बस्न बाध्य भएको जुनिचाँदे ४ कै मनिसा खडका बताउछिन् । यसरी छाउगोठमा बस्दा आफुसंगै बच्चालाई पनि समस्य हुने गरेको उनले बताइन् । छाउगोठमा बस्दा महीलाहरुले धेरै सास्ति खेप्नु परेको छ । कतिले ज्यान समेत गुमाउने गरेका छन् भने कोही बलत्कृत पनि भएका घटना हामीले सुन्ने गरेका छौ ।

जाजरकोटको साविकका मजकोट, गर्खाकोट, दह, कोर्ताङ्ग, कार्कीगाउँ, सुवानाउली लगायतका एक दर्जन बढि गाविसमा छाउपडी प्रथा कायम रहेको छ । यस्तो प्रथाले बिभिन्न बिकृति देखिए पनि रोकथाममा पहल हुन सकेको छैन । गाउँपरिषदबाट निर्णय गरेर यो प्रथाको उन्मुलनमा लागेको जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर के.सीले बताए । दश बर्षे माओवादीको युद्धमा समेत अन्त्य हुन नसकेको यो प्रथालाई अन्त्य गरेरै छोड्ने अध्यक्ष केसीले बताए ।

बिभिन्न संघसस्थाहरुले यसको उन्मुलनको लागि करोडौ रकम खर्चेपनि यसको अन्त्य हुन सकेको छैन । चेतना र निति निर्माणको अभावले जाजरकोट लगायत मध्य र सुदुरपश्चिमका अधिकाँस जिल्लाहरुमा छाउपडि प्रथाको अन्त्य चुनौतिपुर्ण बनेको छ । महिलाहरुले नै यस्तो प्रथाको अबलम्बन गरेकाले रोकथामको पहल हुन नसकेको सामाजिक अभियन्ताहरुको भनाई छ । (VisionKhabar.com)