Radio Surkhet FM 90.2 MHz

गोल्डकप मैदानमा अनमोल केसीको सुटिङ

 

 अहिलेका चर्चित युवा स्टार अनमोल केसी झापाको दमकमा जारी प्रथम दमक गोल्डकपको मंगलबार भएको नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपीएफ खेलमा मैदानमा देखिए । मैदानमा नायकलाई देखेपछि दर्शक निकै उत्साहित बने । उनी एपीएफको तर्फबाट जर्सी नम्बर १९ मा मैदानमा प्रस्तुत भएका थिए । एकाएक मैदानमा अनमोल अनि मैदानमाथि ड्रोन उडेपछि दर्शक एकछिन त रनभुल्लमा परे ।

खेल सुरु हुन बजेको फिफा धुन, त्यसपछि बजेको राष्ट्रिय गीतमा समेत उनले अन्य खेलाडीसँग सहभागिता जनाए । विपक्षी टिमका खेलाडी तथा खेलकुद पदाधिकारीको परिचयसँगै हातसमेत मिलाए । अनि अन्य खेलाडीजस्तै वार्मअप गरे । जब उनी वार्मअपपछि खेलमैदान बाहिर निस्किए त्यसपछि मात्र थाहा भयो अनमोल फिल्मको सुटिङ गरिरहेका रहेछन् । आकाशमाथि उडाइएको ड्रोनले चलचित्र क्याप्टेनको यो दृश्यलाई कैद गरिरहेको थियो ।

आफ्नै बुवा भुवन केसीले निर्माण गरिरहेको चलचित्र क्याप्टेनको सुटिङ यतिबेला झापा र इलाममा धमाधम भइरहेको छ । चलचित्र खेलसँग सम्बन्धित भएकाले चलचित्र युनिटले मौका छोपेर दमक गोल्डकपलाई प्रयोग गरेको हो । केही दिनअघि इलाममा सम्पन्न माई भ्याली गोल्डकपमा समेत चलचित्र क्याप्टेनको सुटिङ भएको थियो । चलचित्रको पात्रले पूर्वका ग्रामीण भेगमा हुने फुटबल प्रतियोगिताको कथा छुने भएकाले अहिले झापा र इलाममा यो चलचित्र सुटिङ भइरहेको निर्माता भुवन केसीले बताए ।

चलचित्रले ग्रामीण भेगको फुटबल खेलाडीले खेल जीवनमा गर्नु परेको संघर्षको कथा बोकेको निर्देशक दिवाकर भट्टराईले बताए । झापाको ग्रामीण भेगको एउटा केटो ईशान (अनमोल केसी ) को खेल जीवनमा आएका आरोह अवरोह, पारिवारिक कथा तथा लभ स्टोरीको प्याट्रनसमेतलाई चलचित्रले समेटेको उनको भनाइ छ । खेलकुदलाई आधार बनाएर चलचित्र निर्माण गर्नु निक्कै चुनौतीपूर्ण काम रहे पनि सफलता हात पार्नेमा दिवाकर विश्वस्त छन् ।

अनमोल यो फिल्ममा खेलाडीको भूमिकामा देखिन पाउँदा खुसी छन् । आफूले क्याप्टेनका लागि निकै मेहनत गरेको उनले बताए । खेलकुदसँग सम्बन्धित फिल्म रहेकाले यसबारे थप जान्न र अभ्यस्त हुन तीन महिना एन्फा एकाडेमीमा ट्रेनिङसमेत गरेको उनले बताए । खेलकुदप्रति योङस्टारको क्रेजलाई यस चलचित्रले झनै बढावा दिने उनको भनाइ छ ।

चलचित्रको छायांकन झापा, इलामसँगै काठमाडैां र पोखरामा समेत गरिने निर्माता केसीले जानकारी दिए । चलचित्र तयार गरिसक्दा करिब दुई करोड ५० लाख खर्च हुने केसीको भनाइ छ । चलचित्र क्याप्टेनमा अनमोल केसीसँगै, सुनील थापा, सरोज खनाल, विल्सनविक्रम राई, प्रशान्त ताम्राकार, विक्रम राई, अमित        श्रेष्ठ, राजाराम दाहाललगायत छन् । चर्चित भूतपूर्व फुटबल खेलाडी हरि खड्कासमेत चलचित्रमा देखिनेछन् । सुनील थापालाई चलचित्रमा राष्ट्रिय कोचका रूपमा देख्न सकिनेछ । त्यस्तै सरोज खानालले ईशानको बुवाको भूमिका निर्वाह गर्नेछन् । चलचित्र क्याप्टेनमा दुई नवनायिका प्रियंका एमभी र उपसाना सिंह छन् । चलचित्र युनिट अब तीन दिन दमक बसेर काठमाडैां लाग्नेछ ।

प्रतिकृया दिनुहोस

सलिनमानको यात्रा सुरु

 चलचित्र ‘यात्रास् अ म्युजिकल भ्लग’ को छायांकन सुरु भएको छ । केहि दिन अगाडी शुभमुहुर्त गरिएको चलचित्रको नियमित छायांकन आजबाट सुरु भएको हो

विद्यार्थीका आकर्षक पहिरनमा मोडेल

  बुट्टेदार गाउनमा आफ्ना मोडल सजाउन व्यस्त थिइन् कुसुम भट्ट। कहिले मोडलको कपाल मिलाउँदै थिइन् त कहिले उनले पहिरिएको फेसेनेबल लुगा। बिहानैदेखि

रंगमञ्चमा बालबालिकाको रोचक प्रस्तुति

काठमाडौं : नयाँबानेश्वर संगमचोकस्थित काठमाडौं प्रज्ञा कुञ्ज स्कुलको प्राङ्गण । सुनसान प्लेग्राउन्ड । अलिकति अगाडि रातो मखमलको पर्दाले छोपिएका